विश्वकपमा छनौट भएको एक हप्ता नबित्दै अस्ट्रेलियाका प्रशिक्षकले दिए राजीनामा

मंसिर ६ – आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलमा छनौट भएको एक हप्ता नबित्दै अस्ट्रेलियाका प्रशिक्षक एन्ज पोस्तेकोग्लुले राजीनामा दिएका छन् । राष्ट्रिय टिमको प्रशिक्षकको जिम्मेवारी आफ्ना लागि निकै भारी भएजस्तो लागेकाले राजीनामा दिएको उनले बताएका छन् । 

५२ वर्षका एन्जले गएको हप्ता विश्वकप छनौटका लागि भएको प्ले–अफमा होण्डुरसलाई समग्रमा ३–१ ले हराउँदै अस्ट्रेलियाको रुस यात्रा तय गराएका थिए । अस्ट्रेलिया लगातार चौथोपटक विश्वकपमा छनौट भएको हो । एन्जलाई नयाँ सम्झौताका लागि छलफल गर्न आग्रह गरिएको थियो तर उनले आफू थप जिम्मेवारी नलिने भन्दै राजीनामा दिएका हुन् । 

राजीनामा दिने निर्णय लिन आफूलाई निकै कठिन भएको तर यो जिम्मेवारी निभाउने क्रममा आफूले सकेजति सबै प्रयास गरेको अब आराम चाहेको उनले बताएका छन् । आफ्नै देशको टिमलाई प्रशिक्षण गर्नु ठूलो सम्मानको कुरा रहेको र सँगै यसमा ठूलो जिम्मेवारी पनि हुने उनले बताए ।

उनी सन् २०१३ देखि अस्ट्रेलियाको प्रशिक्षकको रुपमा काम गर्दै आएका थिए । उनले यो अवधिमा भएका ४९ खेलमा २२ खेल जितेका छन् ।

 

 

सम्बन्धित शीर्षकहरु