म्यानचेस्टर सिटी समूह विजेता, लिभरपुलले पहिलो हाफमै लिएको ३–० को अग्रता जोगाउन सकेन

मंसिर ६ – च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा फेयीनुर्डलाई १–० ले हराएको म्यानचेस्टर सिटी समूह ‘एफ’ को विजेता बनेको छ ।

घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीलाई जिताउन रहिम स्ट्रर्लिङले अन्तिम समयमा गरेको गोल नै निर्णायक बन्यो ।
राति नै भएको खेलमा नापोलीसँग ३–० ले पराजित भए पनि शाख्तर डोनेस्क समूह ‘एफ’ को उपविजेता बन्दै अन्तिम १६ मा पुगेको छ ।

समूह ‘इ’ अन्तर्गत राति नै भएको खेलमा लिभरपुल सेभिल्लासँग ३–३ को बराबरीमा रोकिए पनि समूह विजेता बन्न भने सफल भयो । लिभरपुलका लागि रोबर्टो फिरमिनोले दुई तथा साडिओ मानेले एक गोल गरे ।

यस्तै सेभिल्लाका लागि बेन यड्डरले दुई तथा पिजार्रोले एक गोल गरे । पहिलो हाफमा नै ३–० को अग्रता लिएको लिभरपुलले त्यसलाई जोगाउन सकेन । ९ अंकसहित लिभरपुल समूह विजेता तथा ८ अंकसहित सेभिल्ला समूह उपविजेता बनेका हुन् ।

यस्तै समूह ‘जी’ अन्तर्गत राति नै भएको खेलमा १–१ को बराबरी खेलेका बेसिक्टास र एफसी पोर्टो पनि अन्तिम १६ मा पुगेका छन् । बेसिक्टास समूह विजेता तथा एफसी पोर्टो समूह उपविजेता बनेका हुन् ।

 

 

सम्बन्धित शीर्षकहरु