२४ घण्टाभित्र प्रचार सामाग्री हटाउन आयोगको निर्देशन

विराटनगर, मंसिर ६ – मोरङका राजनीतिक दललाई निर्वाचन आचार संहिताको उल्लंघन गर्दै सार्वजनिक स्थलमा टाँगिएका तुल, ठूला ब्यानर तथा प्रचार सामाग्री हटाउन निर्वाचन आयोगले २४ घण्टे अल्टिमेटम दिएको छ ।

मोरङका धेरै स्थानमा निर्वाचन आचारसंहिता विपरितका सामाग्रीहरु राखिएको पाइएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वपक्षीय बैठक बोलाएर यस्तो अल्टिमेटम दिएको हो । मुख्य निर्वाचन अधिकृत राजुक्ुमार खतिवडाले निर्वाचन आचारसंहिता कार्यान्वयन गराउनको लागि कसैले दवाव दिनु पर्ने अबस्था राजनीतिक दलहरुमा आउनु नहुने भन्दै दलहरु चुनावको समयमा आचार संहिताको बिषयमा आफै जानकारी हुनु पर्नेमा त्यसो नभएको पाइएपछि आचारसंहिता विपरित राखिएका सामाग्री हटाउन निर्देशन दिइएको जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचन आचारसंहिता उल्लंघनको बिषयमा धेरै उजुरीहरु आउन थालेपछि दलहरुलाई बोलाएर सार्वजनिक स्थलमा टाँगिएका दलका ब्यानर, फ्लेक्स, होर्डिङबोर्ड लगायतका सामाग्री हटाउन भनिएको हो । त्यहीअनुसार दलहरुले पनि २४ घण्टाभित्र ती सामाग्री हटाउने प्रतिबद्धतामा हस्ताक्षर गरेका छन् । यसरी निर्वाचन आचारसंहिता उल्लंघन गर्नेमा नेपाली कांग्रेस बढी रहेको र त्यसपछि एमाले तथा माओवादी केन्द्र रहेको छ ।

सिडियोको ठाडो आदेश

मोरङमा ६ वटा निर्वाचन क्षेत्रमा दलहरुले चुनावी प्रचारको लागि लगेका गाडीको विववरण अझै बुझाएका छैनन् । चुनाव प्रचारका लागि निर्वाचन अधिकृतको कार्यालयहरुबाट गाडीको पास लिएर मात्र चुनावमा सवारी प्रयोग गर्न पाउने निर्वाचन निर्देशिका बाहिर गएर दलहरुले एउटा गाडीको पनि पास नलिई चुनावी प्रचारमा हिँडेका छन् । निर्वाचन क्षेत्र नम्बर ५ का निर्वाचन अधिकृत बिष्णुमोहन कोइरालाले चुनाव प्रयोजनका लागि अहिलेसम्म एउटा पनि पास नलगेको जानकारी दिनुभयो । उहाँले यस बारेमा जानकारी गराए लगत्तै मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले चुनाव प्रचारमा हिँडेका कुनै पनि गाडीलाई रोकेर पास खोज्न र पास नभए तत्काल नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय मार्फत माताहतका निकायलाई निर्देशन दिनु भएको छ ।

‘निर्वाचन आचारसंहिता विपरित गर्नु हुँदैन भनेर हामीले पटक पटक भनी रहेका छौँ त्यसलाई दलहरुले अटेर गरेका छन्’ प्रजिअ आचार्यले भन्नुभयो, ‘अब कारबाही प्रक्रियामा जाँदा सबैलाई असर पर्न सक्छ हामी चुप लागेर बस्ने कुरा आउँदैन ।’ चुनावलाई भयरहित र निष्पक्ष बनाउनको लागि निर्वाचन आचार संहिताको कडाईका साथ पालना पर्नुपर्नेमा उहाँको जोड छ ।

दलहरुबिच प्रतिस्पर्धा

निर्वाचन आचारसंहिताको बिषयमा दलहरु एक अर्कोमा आरोप प्रत्यारोपमा उत्रिएका छन् । मुख्य दुई दल नेकपा एमाले र नेपाली कांग्रेस आचारसंहिता उल्लंघनमा उत्रिएपछि दलहरु एकले अर्कोलाई आरोप लगाएर आफू उम्कीने दाउमा छन् । नेकपा एमालेका अध्यक्ष बिनोद ढकालले नेपाली कांग्रेसले आचारसंहिता उल्लंघनको काम सुरु गरेपछि स्थानीय स्तरमा केही नेता कार्यकर्ताहरुबाट आचारसंहिता उल्लंघन भएको स्वीकार गर्नुभयो । आचारसंहिता उल्लंघन गर्ने काम कांग्रेस भित्रबाट नभएको भए आफ्ना कार्यकर्ताबाट कुनै त्यस्ता गतिविधि नहु्ेने दावी गर्नुभयो । नेकपा एमालेको आरोपको बिषयमा नेपाली कांग्रेसका सचिव नागेश कोइरालाले अरुलाई आरोप लगाउन भन्दा पहिला आफ्ना कार्यकर्ताले गरेका गतिविधिलाई एमालेले हेर्नु पर्ने बताउनुभयो । उहाँले आचारसंहिता उल्लंघन भएको बारेमा स्वीकार गर्न तयार रहेको बताउँदै भन्नुभयो, ‘हामीबाट केही गल्ती कमिकमजोरी भएको भए आजको मितिदेखि नै कार्यकर्तालाई निर्देशन दिँदै ति सामाग्री हटाउन लगाउँछौ ।’

सँधैको उस्तै ताल

दलहरुले बैठक तथा छलफलमा निर्वाचन आचारसंहिताको पालना गर्ने गरेको बताउँदै आएको भए पनि आचारसंहिताको ब्यापक उल्लंघन हुँदै आएको छ । सार्वजनिक स्थलहरुमा होर्डिङ बोर्ड, फ्लेक्स, तुल–ब्यानर राख्ने, निर्माण सामाग्रीहरु रातारात पुर्‍याउने कामहरु भएको निर्वाचन आयोगमा उजुरी आएको छ । बिजुलीका पोलहरु पुर्‍याउने, स्वास्थ्य शिविर चलाउने, आर्थिक प्रलोभन दिने गरेकोसमेत आयोगमा उजुरी परेको क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरका प्रमुख प्रेम प्रसाद सञ्जेलले जानकारी दिनुभयो । यसरी निर्वाचन आचारसंहिताको उल्लंघन गर्नेहरुमाथि आयोग चुप लागेर नबस्ने र तत्काल कारबाहीमा जाने उहाँको भनाई छ ।

 

 

सम्बन्धित शीर्षकहरु