मेसिन बिग्रिएपछि सेती अञ्चल अस्पतालमा डायलासिस सेवा बन्द

कैलाली, मंसिर ६ – एक महिनाको अवधीमा तीनवटा डायलासिस मेसिन बिग्रिएपछि सेती अञ्चल अस्पतालमा एक वर्ष अघिदेखि सुरु भएको डायलासिस सेवा बन्द भएको छ । सेती अञ्चल अस्पतालमा रहेका चार मेसिन मध्ये एक महिनाको अवधीमा तीनवटा मेसिन बिग्रिएपछि सेवा दिन नसकिने भन्दै अस्पताल प्रशासनले सूचना टाँस गरेको छ ।

प्रदेश नम्बर ७ मा डायलासिस सेवा सेती अस्पतालमा मात्रै रहेको छ । असोजको पहिलो हप्तादेखि बिग्रिन सुरु हुन थालेका  डायलासिस मेसिनहरु एकपछि अर्को गर्दै अहिले आएर तीनवटा बिग्रिएका हुन । असोज ६ गते पहिलो मेसिन बिग्रएको, त्यसपछि अर्को मेसिन १३ गते बिग्रिएको र तेस्रो मेसिन सोमबार बिग्रिएको डायलासिस विभागकी प्रमुख यसोदा ढकालले जानकारी दिनुभयो ।

सेती अञ्चल अस्पतालमा सबैभन्दा पहिला नेपाल मानव अंग प्रत्यारोपण केन्द्रले जर्मन कम्पनीका दुईवटा मेसिनबाट डायलासिस सुरु गरेको थियो । त्यसपछि स्वास्थ्य सेवा विभागको आपूर्ति महाशाखाले थप दुईवटा मेसिन पठाएपछि सेती अञ्चल अस्पतालमा डायलासिस मेसिनको संख्या चार पुगेको थियो ।

तर अस्पतालले चाईनीज कम्पनीका दुईवटा र एउटा जर्मन कम्पनीको मेसिन बिग्रिएकाले सेवा दिन नसक्ने जनाएको छ । चारवटै मेसिनको दुई वर्षको वारेन्टी भए पनि वारेन्टी अवधीमै तीनवटा मेसिन बिग्रिएका हुन् ।

 

 

सम्बन्धित शीर्षकहरु