वीरगन्जका २ भन्सारले गरे साढे १२ अर्ब राजस्व संकलन

पर्सा — वीरगन्जका २ भन्सार कार्यालयले माघ महिनामा झन्डै साढे १२ अर्ब रुपैयाँ राजस्व संकलन गरेका छन् । वीरगन्ज र सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले गरी १२ अर्ब ४३ करोड २४ लाख ९९ हजार रुपैयाँ राजस्व संकलन गरेका हुन् ।

वीरगन्ज भन्सार कार्यालय एक्लैले माघ महिनामा १० अर्ब १ करोड ३६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । तर यो असुली उसको मासिक लक्ष्यभन्दा भने कम नै हो । यस महिनामा १० अर्ब ७५ करोड १३ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य यो भन्सारको थियो ।

कार्यालयका सूचना अधिकृत सन्तोष यादवका अनुसार यो असुली लक्ष्यको ९३ दशमलव १४ प्रतिशत मात्र हो । तुलनात्मक रूपमा माघ महिना सानो महिना भएको र यस महिनामा सार्वजनिक बिदा बढी तथा १ दिन वीरगन्ज बन्दसमेत रहेकाले राजस्व असुली लक्ष्य भेट्टाउन गाह्रो भएको हो । ‘एकातिर सार्वजनिक बिदा बढी भएको र अर्कोतिर एक दिन वीरगन्ज बन्द पनि भयो,’ उनले भने, ‘त्यसमाथि महिनामा २९ दिन मात्र थियो, फेबु्रअरी १ मा भारतको बजेट आउँदा एक दिन रक्सौल भन्सार बन्द भएर त्यसको असर पनि पर्‍यो ।’ यादवले थप २ दिन भएको भए कार्यालयले सहजै मासिक लक्ष्य भेट्टाउने दाबी गरे । मुलुककै सर्वाधिक राजस्व संकलन गर्ने यो भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो ७ महिनामा संकलन गर्नुपर्ने राजस्व असुलीको लक्ष्य पनि भेट्टाउन सकेको छैन । साउनदेखि माघसम्मको ७ महिनाको अवधिमा ७२ अर्ब ५७ करोड १९ लाख रुपैयाँ राजस्व असुलीको लक्ष्य रहेकामा ६९ अर्ब १६ करोड ५४ लाख रुपैयाँ मात्र राजस्व यो भन्सारले संकलन गर्न सकेको छ जुन लक्ष्यको ९५ दशमलव ३१ प्रतिशत हो ।

समग्रमा राजस्व असुली घट्नुमा यो नाकाबाट कर छुटका सामान बढी आयात हुनु, विभिन्न कूटनीतिक नियोगका सामान पूर्ण कर छुटमा भित्रिनु प्रमुख कारण रहेको उनले बताए । ‘यसबाहेक ठूला परियोजनाका निर्माण सामग्री निरन्तर भित्रिने र तिनमा कर छुट हुने भएकाले राजस्व असुली कम हुन गएको हो,’ उनले भने, ‘रक्सौल अमलेखगन्ज पाइप लाइन परियोजना, विभिन्न विद्युत् आयोजनाका सामग्री निरन्तर भित्रिएका छन्, तर तिनले राजस्व तिर्दैनन्, यो नाकामा व्यापार बढेको देखिन्छ तर राजस्व त्यसअनुरूपको असुली हुँदैन ।’ यो नाकामा राजस्वमा सर्वाधिक योगदान गर्ने वस्तुमा इन्धन, नयाँ सवारीसाधन, औद्योगिक कच्चा पदार्थ हुन् ।

यता सुक्खा बन्दरगाह भन्सार कार्यालयले माघ महिनामा २ अर्ब ४१ करोड ८८ लाख ९९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ जुन मासिक लक्ष्यको ६ दशमलव ८६ प्रतिशत बढी हो । यो महिनामा २ अर्ब २६ करोड ३५ लाख रुपैया राजस्व संकलनको लक्ष्य यो भन्सारको थियो । कार्यालयका अधिकृत डिल्लीप्रसाद शर्माका अनुसार, माघ महिनामा भारतकै अर्को बन्दरगाह बिसाखापटनबाट पनि कन्टेनर आउने क्रम बढेकाले त्यसको सकारात्मक प्रभाव राजस्व असुलीमा परेको हो । पुस महिनामा पनि यो भन्सारले राजस्व असुली लक्ष्य भेट्टाएको थियो ।

तर यो भन्सार पनि वार्षिक राजस्व असुली लक्ष्यको मामिलामा पूर्ण सफल भने छैन । चालु आवको ७ महिनासम्ममा १५ अर्ब २७ करोड ८८ लाख ९६ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य पाएको यो भन्सारले १४ अर्ब ३८ करोड १२ लाख ४७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । जुन लक्ष्यको ९४ दशमलव १२ प्रतिशत हो । वर्षको आउँदो महिनामा पुस र माघ महिनाकै अनुपातमा राजस्व संकलन भए वार्षिक राजस्व असुली लक्ष्य सहजै भेट्टाउनेमा आफू आशावादी रहेको शर्माले बताए । यो नाकामा राजस्वमा सर्वाधिक योगदान गर्ने वस्तुमा फलाम, मदिरा, गेडागुडी आदि रहेका छन् । भारतभन्दा तेस्रो मुलुकसँग आयात निर्यात व्यापारका लागि यो नाका बढी प्रयोग हँुदै आएको छ । भारतको कोलकाता बन्दरगाहबाट मालवस्तु बढी आयात हुने यो बन्दरगाहमा ६ महिना यता बिसाखापटनमबाट पनि मालबाहक कन्टेनर आउन थालेका छन् ।

 

 

सम्बन्धित शीर्षकहरु