सपना पूरा हुने आशा

धनुषा — प्रदेश २ को मुख्यमन्त्रीको नियुक्तिपत्र लालबाबु राउतले बुझेपछि मधेस आन्दोलनका सहिदको सपना पूरा गर्ने बताए । राउतले सहिदको सपना पूरा गर्ने बताइरहँदा धनुषा, लक्ष्मिनिया–१ अरेर्वाका ४३ वर्षीय रामनरेश यादव ९ वर्षीया छोरा दिलिपले मधेस आन्दोलनमा सहिद भएको प्रति दुखेसको पोख्दै थिए ।

विद्यालय पढ्दै गरेका एक्लो छोरा मधेस आन्दोलन क्रममा ०७३ भदौ २५ गते जनकपुरको पिडारी चोक स्थित पोखरीको डिलमा मारिएको पीडा बुबा रामनरेश र आमा रानिबतीले बिर्सिन नसक्दा राती भकानिन्छन् ।

आन्दोलनमा छोरा सहिद भएपछि वैदेशिक रोजगारबाट फर्केका रामनेरश गाउँमा नेताको रुपमा पहिचान बनेको बताउँछन् । विदेशबाट फर्केपछि घर गृहस्थमा लागे, तर मलाई गाउँमा नेता भन्छन्, उनले भने, ‘म गरिबलाई नुनतेल जोड्न त धौधौ छ । गाउँमा नेता भन्छन् । तर, मेरो केही चल्दैन । गाउँपालिकाले गाउँमा तरकारी र गहुँको बिज बाँडे । दलका कार्यकताहरू मिलेर बाँडफाँड गरे । सहिद परिवारलाई बिर्से । गाउँमा सहिदको स्मारक बनाउन आग्रह गर्दा नेताहरूले विवाद गरेका छन् ।

कार्यक्रममा १ मिनेट मौनधारण, तस्बिरमा फूलमाला र मञ्चमा सहिद परिवारलाई दोसल्ला ओढाएर राजनीतिक दलले सुविधा दिने बेलामा बिर्सिन्छन्,’ उनले भने । मौनधारण र फूल चढाएर सम्मान गर्ने दलका नेता व्यवहारमा सहिदको बदनाम गरेको आक्रोश पोख्दै उनले भने, ‘सहिदको रेकर्ड बन्छ । तर, सहिदको सपना सहिदको दाहसंस्कारमै खरानी बन्छ ।

‘आन्दोलनमा सहिदका लागि चर्को भाषण गर्ने नेता प्रदेशमा निर्वाचित भएपछि पहिलो बैठकमा बोलाउन नसक्नु उनिहरू सहिदलाई बिर्सेको प्रमाण हो,’ उनले भने ।

छोरा कमाएर परिवार चलाउने बेला आउनै लाग्दा आन्दोलनमा सहिद भएको बताउँदै १४ लाख खर्चेर २ छोरीको बिवाह गरे पनि २ छोरी अझै विवाह गर्न बाँकी छ । रामनरेशले भने, ‘खेती किसानी गरेर दैनिक नुनतेल जोड्न समस्या भएको बेला सरकारले रोजगारी समेत दिएन । ‘उनले राज्यसँग गुनासा गर्छन् । नेता र सरकार सहिदको नाम दिन्छन् तर सहिद परिवारको समस्या बुझदैनन्, उनले भने, ‘अब, आन्दोलन भयो भने म जान्नँ ।’ कपटी नेताहरूका कारण छोरा गुमाउँदाको पीडा सम्झेर अपसोच र पछुताउनुबाहेक केही छैन,’ उनले भने ।

प्रदेशमा बन्ने सरकारलाई स्वार्थमुक्त भएर परिवर्तनका लागि अगाडि बढेर गाउँमा कृषि, सडक, शिक्षा, उपचार र सहिद परिवारलाई रोजगारी दिन रामनरेशले सुझाए । विद्यालयपढ्दापढ्दै आन्दोलनमा मारिएको दिलिपको परिवारको पीडाभन्दा कम छैन कक्षा १० पढ्दै गर्दा जनकपुरमा मारिएका १६ वर्षीय नितु यादवको परिवार । विद्यालय पढ्दै गर्दा घरको सम्पूर्ण जिम्मेवारी बहन गर्ने छोरा मारिएपछि ४० वर्षीय बुबा श्रीनरायण यादव दुध बेचेर दैनिकि चलाउँदै छ ।

अधिकारका लागि आन्दोनम गर्दा छोरा गुमाएका श्रीनारायाणले भने, ‘आन्दोलनमा छोरालाई गोली ठोकेर मारे । आन्दोलन सकिएपछि अधिकार पाइन्छ सबैले भने । तर, अधिकार मेरो जीवनको व्यवहारमा आउन सकेको छैन ।’ आन्दोलनमा बलिदान दिएको परिवार झन् मुस्किलमा परेर पाएको अधिकार पनि कटौती पाएको महसुस भएको छ,’ उनले भने ।

प्रदेश सरकारले सबैभन्दा पहिला सहिद परिवारका सदस्यलाई रोजगारी र मधेसीलाई नागरिकता सहज रुपमा उपलब्ध गराउन उनले सुझाव दिन्छन् । तेस्रो मधेस आन्दोलनमा धनुषाको जनकपुरमा दिलिप यादव, नितु यादव र सञ्जय चौधरीको मृत्यु भएको थियो ।

‘बोलेको कुरा नेताले पुरा गरुन्’

बारा प्रसौनी गाउँपालिका ३ नौतन बहुअरीका ५५ वर्षीय शिवपुजन साह पनि सहिद पिता हुन् । २०७२ भदौ १५ गते वीरगन्जको प्रतिमा चोकमा उनका एक मात्र छोरा दिनानाथले सहादत प्राप्त गरे । २२ वर्षीय दिनानाथ यातायात व्यवस्था कार्यालय वीरगन्जमा लेखापढी गर्थे । उनको सहादतको ३ महिनापछि उनकी विधवा सोनीले सहिदपुत्र सुरज भगवान्लाई जन्म दिइन् । पति वियोगपछि पर्सा हसवास्थित माइतीमा बस्दै आएकी सोनी घर फर्किनन् । सरकारले दिएको १० लाख रुपैयाँ क्षतिपूर्ति उनैले पाइन् । बूढा बुबाआमालाई जीवन निर्वाह गर्न धौधौ छ । हातको लट्ठी जवान छोरा गुमाएपछि शिवपुजन बेकार र लाचार भए । गत वर्ष सामाजिक अभियन्ता प्रकश थारुको पहलमा कोसिस फाउन्डेसनको लगानीमा गण्डक चोकमा उनको जीवन निर्वाहका लागि किराना पसल थापिएको छ । पसलले जेनतेन गुजारा त चलेको छ तर चँुडिएको मन कहिल्यै जोडिने गरी टुटेको छ । ‘छोरो गुमाए, नाति घरमा छैन, घरमा हामी बुढा दम्पत्ती र एउटी छोरी प्रतिमा मात्र छौं,’ उनले भने, ‘बाँकी जीवन कसरी कट्ने हो भन्ने ठूलो चिन्ता छ ।’ ३ छोरीमध्ये कान्छी प्रतिमाको विवाहको चिन्ता पनि छ उनलाई । ‘सुन्दै छु मधेसी दलकै सरकार हाम्रो प्रदेशमा बन्दै छ,’ उनले भने, ‘अब सहिद परिवारको दु:ख र पीडा सकिन्छ कि भन्ने आशा छ ।’

हुर्केकी छोरीको विवाह गर्न सरकारले मद्दत गर्छ किभन्ने झिनो आशा रहेको उनले बताए । मधेसवादी दलका नेताहरूलेनै सहिद परिवारलाई ५० लाख क्षतिपूर्ति दिने सार्वजनिक घोषणा गरेको पनि उनलाई राम्रै हेक्का छ । ‘नेताहरूले बोलेको कुरा पनि पूरा गर्नुपर्‍यो,’ उनले भने, ‘सहिदका आमाबुबाले बाँकी जिन्दगी सम्मानपूर्वक बाँच्ने व्यवस्था प्रदेश सरकारले गरी दिनुपर्छ ।’

 

 

सम्बन्धित शीर्षकहरु