भारतीय नेटवर्किङको जालोमा फस्दै नेपाली चेली

पर्सा — मंसिरको अन्तिम साता वीरगन्जस्थित नेपाल भारत सीमा नाकाबाट माइती नेपालका सीमारक्षकले मोरङ बेलबारी ९ की २६ वर्षीया पार्वती पौडेलसहितको ८ जनाको महिला टोलीलाई भारत जानबाट रोक्यो । टोलीमा सहभागी सेन्चुरी, बिक, खाती थरका अन्य महिला पनि पार्वतीको नेतृत्वमा भारतको बनारस जानबाट रोकिए ।

बनारसस्थित आइकोन नेटवर्किङ कम्पनीमा आबद्ध हुन र त्यसका लागि कम्पनीलाई रकम बुझाउन भनी जान लागेका उनीहरूलाई भारत जान नदिएर उनीहरूको आफन्त बोलाई जिम्मा लगाएर फर्काइए । प्रारम्भिक सोधपुछपछि पार्वतीले उक्त टोलीको नेतृत्व गरेर बाँकी महिलालाई नेटवर्किङ व्यवसायमा लाग्न उत्प्रेरित गरेको पाइएको माइती नेपाल वीरगन्ज आवधिक गृह प्रमुख संगीता पुरीले बताइन् ।

सन् २०१७ मा यसरी भारततर्फ नेटर्विङ व्यवसाय संलग्न हुन भनी जान लागेका थप ४ महिलालाई समयसमयमा रोकेर फर्काइएको उनले बताइन् । यसरी सोझासाझा गृहिणीहरूलाई नेटवर्किङ व्यवसायमा जोड्ने दलालीमा संलग्न अधिकांश महिला नै हुने गरेका छन् ।

‘टाठाबाठा महिलाहरूले १८ देखि ३० वर्ष उमेर समूहका सोझासाझा गृहिणीहरूलाई पैसाले पैसा तान्ने भन्दै नेटवर्किङ व्यवसायमा लाग्न उत्प्रेरित गर्दा रहेछन्,’ पुरीले भनिन्, ‘नेपालमा अवैध मानिएको यो व्यवसायको मूल उद्देश्य र कार्यशैलीसमेत नबुझेका महिलालाई उनीहरूका पतिलाई थाहै नदिई वा पतिको अनुमति बेगर समेत नेटवर्किङ व्यवसायमा लगानी गर्ने र यो व्यवसायमा पूर्णकालीन रूपमा संलग्न हुन पनि दलालहरूले उत्प्रेरित गर्ने गरेको पाइएको छ ।’ बनारसको आइकोन र गोरखपुरको बिडी नेटवर्किङ कम्पनी गरी २ वटा कम्पनीसँग जोडिन यसरी पूर्वी नेपालका विराटनगर, झापा, धनकुटा, संखुवासभा, धरान, इटहरी क्षेत्रका महिला भारत जाने गरेको पाइएको छ । यस्ता महिला अधिकांश दलित, जनजाति हुने र सामान्य साक्षर मात्र हुने गरेका छन् ।

महिलाहरूलाई फकाएर लग्नेमा अधिकांश महिला र केही पुरुषसमेत हुने गरेका छन् । पुरीका अनुसार माइती नेपाल भैरहवा शाखाले गत वर्ष यसरी नेटवर्किङ व्यवसायमा संलग्न हुन भनी भारत जाँदै गरेका एक सय बढी महिलालाई सीमामा रोकेर फर्काएको थियो । उनीहरूलाई लग्ने ३ पुरुषलाई रुपन्देही प्रहरीले मुद्दासमेत चलाएको पुरीले बताइन् । भैरहवाबाट बनारस र गोरखपुर दुवै भारतीय सहर नजिक पर्ने भएकाले यस प्रयोजनका लागि भैरहवा नाका अझ बढी प्रयोग भएको हुन सक्छ ।

पर्साको हकमा नेटवर्किङ दलालीमा संलग्नहरूलाई हालसम्म मुद्दा नचलाइए पनि आफूहरू अत्यन्त सजग र चनाखो भई यसरी महिलालाई भारत लग्ने बढदो क्रमलाई निमिट्यान्न पार्न लागिपरेको पुरी उनले दाबी गरिन् । पुरीका अनुसार हालसम्म घर फर्काइएका महिलाहरूसँग कुरा गर्दा उनीहरूले नेटवर्किङ व्यवसायसँग जोडिन १० देखि ३० हजार रुपैयाँ शुल्क मात्रै तिरेको पाइएको छ । ‘नेटवर्किङ व्यवसायमा जोडिएपछि लगानी गरेको रकमभन्दा १० गुना बढीसम्म आम्दानी हुन्छ भनी प्रलोभन देखाएर सोझासाझा महिलासँग ५० देखि ६० हजार रुपैयाँ भारुसम्म लिने गरिएको रहेछ,’ उनले भनिन्, ‘सुरुमा उनीहरूलाई भारत लगेर १ महिने तालिम दिने र भारत बसाइ क्रममा आवासीय सुविधासहितको सुविधा दिएर आकर्षित गरिन्छ, त्यसपछि ५०/६० हजार रुपैयाँ लिएर कपडा जिम्मा लगाएर बिक्री गर्न लगाइन्छ ।’

यसरी नेटर्विङ व्यवसाय राम्ररी नबुझेका कतिपय महिला आफूहरू यसअघि तालिम लिएर आइसकेको बताउने गरेको पुरीले बताइन् । यो व्यवसायमा संलग्न हुन यसरी भारत पुगेका महिलाहरू हालसम्म शारीरिक तथा मानसिक रूपमा हिंसाको सिकार भएको उजुरी आई नसके पनि त्यसको सम्भावना पनि प्रशस्त रहेको उनले बताइन् । अधिकांश महिला कम उमेरकै हुने गरेकाले जोखिम झनै बढी छ । ‘भारतमै बर्सेनि ठूलो संख्यामा हाम्रा चेलीबेटी बेचिने र जबरजस्ती यौन व्यवसायमा लगाउने तितो यथार्थ रहेको छ, जुनसुकै बहानामा चेलीबेटी भारत पुगे पनि उनीहरू जोखिममा पर्न सक्दैनन् भनी कसले ग्यारेन्टी लिन सक्छ,’ उनले भनिन्, ‘सरकारी स्तरबाट यसरी स्वदेशी चेलीहरू नेटवर्किङका नाममा जोखिम मोलेर भारत जाने र त्यहाँ ठगिने घटना बढेको बारे जनहितमा सूचनाहरू आउनु जरुरी भइसकेको छ ।’

जिल्ला प्रहरीका प्रवक्ता डीएसपी राजन लिम्बूले यो नाकाबाट यसरी नेटवर्किङ व्यवसायका लागि भन्दै भारततर्फ महिलाहरू लग्ने प्रवृत्तिलाई निरुत्साहित गर्न जिल्ला प्रहरी हरसम्भव प्रयासरत रहेको बताए । ‘कुनै पनि बहानामा आम नेपालीलाई भारतमा लगेर अवैध पेसा व्यवसायमा संलग्न गराइनु हुन्न,’ उनले भने, ‘त्यसमाथि महिलालाई लगिन्छ भने यो झनै संवेदनशील कुरो हो ।’

 

 

सम्बन्धित शीर्षकहरु