वीरगञ्जको नगवामा आधुनिक थोक तरकारी बजार निर्माण गरिने

१५ फागुन, वीरगञ्ज । वीरगञ्जको नगवास्थित खाली सार्वजनिक जग्गामा ‘आधुनिक कृषि थोक बजार’ निर्माण गरिने भएको छ । त्यसका लागि गुरु योजना तयार भइरहेको छ ।

कृषि व्यवसाय प्रवर्धन तथा बजार विकास निर्देशनालयको आ.व. ०७४/७५ मा स्वीकृत कार्यक्रम अनुसार वीरगञ्ज महानगरपलिकाको नगवामा कृषि थोक बजार स्थल निर्माण गर्न लागिएको हो ।

निर्देशनलायले ‘बजार पूर्वाधार विकास कार्यक्रम’ अन्र्तगत वीरगञ्जसँगै हेटौंडा र पोखरामा पनि कृषि थोक बजारका लागि गुरु योजना तयार गर्दैछ । व्यवस्थित बजार नभएका कारण किसान व्यापारीले दुःख भोग्दै आएको गुनासो आएपछि यी क्षेत्रमा आधुनिक बजार निर्माण गर्न लागिएको हो ।

गुरुयोजना निर्माणको जिम्मा माउन्डिजिटल टेक्नोलोजी प्रा.लि.ले पाएको छ ।

वीरगञ्जमा जग्गाको स्थलगत निरीक्षण गर्नुको साथै सरोकारवालासँग एक चरणको छलफल समेत सम्पन्न भएको कम्पनीले जनाएको छ । गुरुयोजना तयार गर्नका लागि निर्देशनलायले ४ लाख बजेट विनियोजन गरेको छ ।

वीरगञ्जको नगवामा रहेको झण्डै ३ विगाहा सार्वजनिक जग्गामा ‘नमुना होलसेल मार्केट’का लागि गुरु योजना बनाउन लागिएको कम्पनीका बजारविज्ञ पुष्पराज शाहीले जानकारी दिए । ‘तरकारी, फलफुल र माछाको खरिद बिक्री एउटै बजारबाट होस भन्ने उद्देश्य अनुसार डिजाइन तयार गर्दैछौं,’ उनले भने, ‘जग्गाको नाप–जाँच गर्ने काम सम्पन्न भएको छ, एक चरण सरोकारवालासँग पनि छलफल गरिसकेका छौं, डिजाइन बनाएर आगामी असारभित्र गुरु योजना तयार हुन्छ ।’

शाहीले अगाडि थपे, ‘पहिला जग्गा यकिन गर्छौ, त्यसअनुसार पार्किङ सुविधा, क्यान्टिन, सुरक्षा, एटिएम, तौलने मेसिनलगायतका आधुनिक सेवा सुविधाका लागि समेत व्यवस्थापन गरिन्छ ।’

जिल्ला कृषि विकास कार्यालय पर्साका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत वीरेन्द्र सिन्हाले वीरगञ्जमा आधुनिक थोक बजारको अवश्यकता देखेर नै गुरुयोजना तयार गर्न लागिएको बताए । ‘वीरगञ्ज व्यापारिक नाका हो, यो सिजनल र बेसिजनल तरकारीको ट्रान्जिट पनि हो’, उनले भने ‘यहाँ पर्सा, बाराबाट मात्रै नभएर भारतबाट समेत तरकारी तथा फलफुल आउँछ । व्यवस्थित बजार नहुँदा किसान व्यापारी दुवैलाई समस्या छ ।’

आधुनिक थोक बजार निर्माणका लागि स्थानीय स्तरबाट सहयोग, सदभाव र सुरक्षाको भने आवश्यकता रहने उनले बताए । ‘अब फन्डिङ कहाँबाट जुटाउने भन्ने चिन्ता हुनसक्छ, राम्रो प्रोजेक्ट बन्यो भने त्यसलाई पेश गरेर लगानीकर्ताहरु खोज्न सकिन्छ’, वरिष्ठ कृषि विकास अधिकृत सिन्हाले भने ।

नगवाहाट बजार व्यवस्थापन समितिका सचिव रविन्द्र श्रीवास्तवले पनि व्यवस्थित थोक बजारका कारण किसान र व्यापारी दुवैले सास्ती खेप्नु परेको बताए । ‘वीरगञ्जमा व्यवस्थित थोक बजारको आवश्यकता छ । जग्गा किनेर बजार बनाउन सक्ने अवस्था छैन, भएकै जग्गामा आधुनिक बजार बसाउन सके सबैका लागि लाभदायक हुन्छ’, श्रीवास्तवले भने ।

माछामासु व्यवसायी संघ पर्साका सचिव ग्यासु मियाँले पनि व्यवस्थित बजार वीरगञ्जमा आवश्यक रहेको बताए । ‘हामी त माछा मासुका लागि पनि व्यवस्थित पशु बधशाला हुनुपर्छ भनेर आवाज उठाइरहेका छौं, तरकारी, फलफूल र माछाका लागि आधुनिक बजारको गुरुयोजना तयार हुँदै रहेछ,’ उनले भने, ‘यसले किसान, व्यापारी र उपभोक्ता सबैलाई फाइदा हुने निश्चित छ ।’

बजार निर्माणपछि उत्पादित तरकारी बिक्रीका लागि बजारको खोजीमा किसानले भौतारिनुपर्ने अवस्थाको अन्त्य हुने मियाँको विश्वास छ ।

 

 

सम्बन्धित शीर्षकहरु