ठेकेदारको लापरबाही: पक्की सडक कहिले ?

सर्लाही — प्रदेश २ का जिल्ला सदरमुकामलाई राजमार्गसँग जोड्ने अधिकांश सडक अत्यन्त जीर्ण बनेका छन् । सम्म भूभाग बाटो बनाउनका लागि सहज र सस्तो भए पनि मधेसमा पिच सडक देख्न मुस्किल छ ।

सर्लाही सदरमुकाम मलंगवा र महोत्तरी सदरमुकाम जलेश्वर जोड्ने बाटो वर्षाैंदेखि बनेका छैनन् । आठ वर्षअघि पिच बनाउन ठेक्का लागे पनि ठेकेदारले काम नगर्दा बाटो जीर्ण छ । राजमार्गको पिलुवाबाट बारा सदरमुकाम कलैया जोड्ने बाटो ठेक्का लागेर नबनेको आठ वर्ष भयो । राजविराज, गौर, वीरगन्ज र जनकपुरमा तुलनात्मक रूपमा सडकको अवस्था सहज छ । ठेक्का लागे पनि कामै नगरिदिएर अलपत्र परेका कारण तीन जिल्लाका सदरमुकाम बढी प्रभावित छन् ।

ठेकेदारले बाटो ओगटेर काम नगरिदिएका कारण घना बसोबास भएको तराईका लाखौं जनता चिल्लो सडक सुविधाबाट वञ्चित भएका छन् । पिच हेर्न सीमापार भारतको विहार जानुपर्ने अवस्था छ । सीमापारि विकासको लहर फुटदा यता भने पुराना पिच सडक फुटेर ग्राभेलमा परिणत भएका छन् । ‘पहिला पिच सडक हेर्न हामी नेपाल जान्थ्यौं,’ विहार सोनवर्षाका रामविनय प्रसादले विगत सम्झँदै भने, ‘अहिले नेपाली यता आउँछन् । हाम्रोमा फराकिलो सडक र विकासले गति लियो ।’

वर्षा लाग्नुअघि द्रुत गतिमा काम हुनुपर्नेमा हुलाकी सडक योजना जनकपुर कार्यालयअन्तर्गतका १२ ठाउँमा ठेकेदारले भुक्तानी नपाएको भन्दै निर्माण रोकेको छ । महोत्तरी, धनुषा र सर्लाहीका यी सडक बनाउन दुईपटक गरी ठेक्का लागेको लगभग आठ वर्ष भइसकेको छ । रनिङ बिलको भुक्तानी माग गर्दै उनीहरूले काम रोकेका हुन् । वर्षा सुरु भएपछि सडक निर्माणको काम ठप्प हुन्छ । सरकारले १/२ दिनभित्रै भुक्तानी नगरे वर्षाले रोकिएर ती सडकको काम सुचारु हुन ६ महिना ढिलो हुन्छ ।

हुलाकी सडक योजना जनकपुरका प्रमुख सन्तोषकुमार कर्णले ठेकेदारले दुई महिनादेखि भुक्तानी नपाएकाले १२ वटा सडकको काम रोकिएको बताए । ‘पैसा नपाए काम नगर्ने भनेका छन्,’ पैसा जुटाउन काठमाडौं पुगेका कर्णले भने, ‘तत्कालै पिचको काम सुरु गराउन नसके वर्षाका कारण फेरि रोकिन्छ ।’ उनले रनिङ विलको करिब ४० करोड ठेकेदारलाई भुक्तानी दिन बाँकी रहेको बताए ।

सरकारले भने आठ वर्षदेखि बन्न नसेकेको ती सडक साविकको भन्दा चौडा बनाउने नीति लिएको छ । मलंगवा नवलपुर सडक २ लेनको बनाउन ठेक्का लागेको हो । गत जेठ ५ गते जनकपुरमा आयोजित कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले मलंगवा नवलपुर सडक छिट्टै चार लेनको बनाइने बताए ।

‘दुई लेनको २६ किलोमिटर सडक यत्रो वर्षदेखि पिच हुन सकेको छैन,’ मलंगवा नवलपुर सडक छिटो बनाउने अभियानमा जुटेका प्रतिनिधि सभा सदस्य प्रमोद साहले भने, ‘अझ पिच हुन कति समय लाग्छ भन्ने यकिन छैन । यत्रो वर्ष सडक किन बनेन भनेर कसैको चासो छैन । अब चार लेनको बनाउने भनिएको छ । फेरि त्यो पिच गर्न कति वर्ष लाग्ने हो । नीतिभन्दा पनि कार्यान्वयन पक्ष बलियो बनाउन सरकार लाग्नुपर्छ ।’

सडक किनारका बासिन्दा जस्तोसुकै काम गरे पनि पिच बनाइदिए धूलो उड्दैनथ्यो भन्नेमा पुगेका छन् । आठ वर्षअघि सडक पिच गर्न ठेक्का लाग्दा किनारका हरेक बस्तीमा गुणस्तरीय काम गराउनुपर्छ भनेर नागरिक तहमा तयारी भएको थियो ।

सिर्सियाका जयकरण राय पहिले गुणस्तर हेर्न गाउँमा अगुवा तोकिएको स्मरण गर्दै भन्छन्, ‘अब पिच भइदिए पुग्ने भयो । धूलोकै कारण सडक छेउ बस्न नसकेर खेतमा घर बनाएँ । धूलोले स्वास्थ्य बिग्रेर खत्तम भयो । धूलो नउड्ने गरी पिच बन्यो भने हामीलाई पुग्यो ।’

 

 

सम्बन्धित शीर्षकहरु