तीजगीतमा होडबाजी

तीज आउन निकै दिन बाँकी छ । तर विभिन्न सार्वजनिक थला, संघसस्था र क्लबहरूमा नाचगान सुरु भइसकेको छ । परम्परागत भन्दा होटल र पार्टी प्यालेसमा तीजको माहोल छ ।‘गाडीमा यात्रा गर्दा होस् या बजार डुल्दा, तीज गीत घन्केको सुनिन्छ,’ कपिलवस्तुकी पार्वती विश्वकर्माले भनिन् । साउने संक्रान्तिदेखि नै तीजे गीतको रौनक सुरु भएको हो यता । यसैलाई पछ्याउँदै कलाकारबीच गीत सार्वजनिक गर्न तँछाडमछाड जस्तै चलेको छ । यहाँका ५ वटा मिडिया सेन्टरले यस वर्ष ५० गीत निकालिसकेका छन् । गीत रेकर्डिङ हुने क्रम पनि जारी छ । गायिका शिलु भट्टराई ‘उर्मिला’ ले यस वर्ष मात्रै १० वटा गीतमा स्वर दिइन् । उनी आफैंले ‘चम्के तरुनी’ गीत निकालेकी छन् । ६ वर्षअघि गाएको ‘गुम पाकुम गुम’ र दुई वर्ष अघिको ‘भँगेरी चरी...’ गीत उनका चलेका थिए । ‘२२ वटा गीतको अफर आएको थियो,’ शीलुले भनिन्, ‘गीतका शब्द र भाका रोजेर २० वटा गाएँ ।’ पुरुष कलाकारहरू पनि यो होडबाजीमा छन् । प्रचण्ड जीसी, बैकुण्ठ महत, डिल्लीनारायण पाण्डे लगायतले पनि तीज गीत निकालेका छन् । स्थापितदेखि करिअरको सुरुवातमा रहेकाले पनि गीत निकाल्ने क्रम सुरु भएको छ । कल्पना कुसुम पेसाले शिक्षक हुन् । लगातार चार वर्षयता उनले पनि तीज गीत निकालिसकेकी छन् । उनका सबै गीत मौलिक र पुरानो लयलाई नयाँ शब्दमा ढालिएका छन् । यसपालि ‘संगिनी...’ बोलको गीत बजारमा ल्याएकी उनले तीजलाई तीजकै रूपमा मनाउनुपर्ने र मौलिकता भुल्न नहुने बताइन् । ‘गुल्मीमा जन्मेंहुर्के । त्यसै बेलादेखि मनमा लोकलय बसेको हो,’ कुसुमले भनिन् । शिक्षक मात्रै हैन, यसरी गीत निकाल्नेमा पत्रकार पनि छन् । सञ्चारकर्मी निरु गौतमले गुल्मी र अर्घाखाँचीमा प्रख्यात भाका छोपेर ‘जमुनाको तीर...’ गीत निकालेकी छन् । पछिल्लो समय तीज गीतमा नाममा रत्यौली भाका भित्रिएकाले विकृति रोक्न यस्तो गीत बजारमा ल्याएको उनको दावी छ । सञ्जय सौगातले ‘कुटुमा कुटु...’, वीरेन्द्र कँुवरले ‘मालीगाई...’, पार्वती न्यौपानेले ‘भदौरे झरी...’ गीत सार्वजनीक गरेका छन् । धेरै गीत मौलिक र पुरानो भाका समातेर गाइएका राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान लुम्बिनीका अध्यक्ष डिल्लीनारायण पाण्डेले बताए । ‘बुटवलका धेरै कलाकार अर्घाखाँची गुल्मी, पाल्पा, स्याङ्जा, प्युठानलगायत क्षेत्रबाट आएका छन्,’ उनले भने, ‘उनीहरूले गीत पनि त्यही क्षेत्रमा गाइने पुराना लय समातेर गाएका छन् ।’ पछिल्लो समयमा बुटवलमा गीत–संगीतको बजार फस्टाएको छ । गीत रेकर्डिङ, मिक्सिङ र भिडियो छायांकनको व्यवस्था यहीँ छ । यसले पनि गीत निकाल्नेहरूको जाँगर बढाएको हो । ‘आफ्नै घरआँगनबाट गीत निकाल्न पाइने भएपछि आकर्षण बढ्नु स्वाभाविक छ,’ बुलबुल मिडियाका निर्देशक विष्णु भट्टराईले भने, ‘अब काठमाडौं धाउने दिन सकिए । काठमाडौंमा लाग्नेभन्दा आधा रकममै उस्तै गुणस्तरमा बुटवलबाट गीत निकाल्न सकिन्छ ।’

 

 

सम्बन्धित शीर्षकहरु