भारतबाट अपहरित बालक नेपालमा बन्धक, फिरौती लिन आए फोरम नेता

घटनामा संलग्न ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताए । उनले भने, ‘भारतबाट बालकलाई २० गते अपहरण गरेर ल्याइएको रहेछ । हामीलाई २४ गते साँझ खबर आयो । भोलिपल्ट साँझसम्ममा हामीले बालकको उद्दार गरिसकेका थियौं ।’ उनका अनुसार पक्राउ पर्नेमा गौरिगञ्जका ४७ वर्षीय बद्री यादव, गौरीगञ्ज-४ का श्रीप्रसाद मुखिया र उनकी श्रीमती अन्जुदेवी मुखिया छन् । पक्राउ परेका यादव संघीय समाजवादी फोरमका नेता हुन् । उनी गत स्थानीय तहको निर्वाचनमा गौरीगञ्ज गाउँपालिकाको अध्यक्षका लागि उम्मेदवार बनेका थिए । त्यसअघि ०६४ र ०७० सालको निर्वाचनमा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ उम्मेवार बनेका थिए । जब फोरम नेता फिरौती लिएर आए… अनुसन्धान अधिकारीहरुका अनुसार भारतको सुपोल जिल्लाबाट मोहमद सद्दामका छोरा महफुज २० गते अपहरणमा परेका थिए । मोटरसाइकलमा आएका दुई जनााले खेलिरहेको महफुजलाई कुट दिएर फकाउँदै नेपालतर्फ ल्याउन सफल भए । प्रहरीले गरेको अनुसन्धानका क्रममा अपहरणपछि बालकलाई झापाको गौरिगञ्ज हुँदै नेपालतर्फ लगेको खुल्यो । त्यसवेलासम्म बालकका बुबालाई फिरौती वापत १५ लाख रुपैयाँ भारु माग गर्दै फोन आउन थालिसकेको थियो । ‘फिरौती नदिए वा प्रहरीमा खबर गरे बालकलाई मारिदिने धम्की दिइएको थियो’ एसपी ढकाल भन्छन्, ‘तर, हामीलाई ४ दिनपछि त्यो खबर प्राप्त भयो र, अनुसन्धानका लागि टोली खटियो ।’ दमक र गौरीगञ्ज क्षेत्रमा सुक्ष्म रुपमा प्रहरी परिचालित भए । दमकका डीएसपी श्यामल सुब्बा, गौरिगञ्जका प्रहरी निरीक्षक टेकेन्द्र शर्मा पौडेल लगायत सीमा क्षेत्रको चेकजाँच र होटल लजहरुको निगरानी र तलासीमा खटिए । प्रहरीले परिवारलाई विश्वासमा लिएर अपहरणकारीलाई फिरौतीको पासो फाल्यो । २५ गते बिहान ४ बजेतिर फिरौती लिन एक अपहरणकारी गौरिगञ्जको खजुरगाछी चोकमा आइपुगे । तीन वटासम्म ठाउँ परिवर्तन गरेर उनी त्यहाँ आउन राजी भए । फिरौती बुझ्न आएका उनी प्रहरीको नियन्त्रणमा परे । त्यसपछि खुल्यो, अपहरणका नाइके फोरमका स्थानीय नेता बद्री यादव रहेछन् । उनकै सूचनाको आधारमा प्रहरीले दमक-५, गोर्खाली टोलस्थित देउराली होटलको कोठा नं. १०७ बाट अपहरित बालकको सकुशल उद्दार गर्‍यो भने अञ्जुदेवी पक्राउ परिन् । थप अनुसन्धानका क्रममा श्रीप्रसाद पनि समातिए । यद्यपि, भारततर्फबाट नेपाल ल्याउन सहयोग गर्ने एक जना अझै फरार रहेको हुनसक्ने प्रहरीको आशंका छ । उनको खोजी भइरहेको झापा प्रहरीले बताएको छ । पक्राउ परेका ३ जनैमाथि अपहरण तथा शरीर बन्धक मुद्दामा जिल्ला अदालत, झापाबाट ५ दिनलाई म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको छ ।

 

 

सम्बन्धित शीर्षकहरु