चाउचाउ र बिस्कुटको भरमा बाँच्दै छन् सुत्केरी

मदन ठाकुर - बारा

- फिरोज मियाँ अन्सारीकी श्रीमती रेशमा खातुन २० दिनको नवजात छोरीलाई काँख च्यापेर भोकै छिन्। पाँच दिन भयो उनले राम्रोसँग खान नपाएको। 

गत आइतबार साँझकाे हावाहुरीमा अन्सारी दम्पतीले ७ बर्से छोरा फैयाजलाई गुमाए। त्यसदिनदेखि रेशमाको अवस्था अत्यन्त दयनीय छ। रुँदै दिन काट्न विवश छिन्। 

राहत बाँड्न आउने अधिकांशले चाउचाउ बाँडेका छन्। त्यही पनि खोसाखोस छ यतिबेला फेटामा। 

फेटा गाउँपालिका ६ पुरैनियाँमा रहेको अस्थायी क्याम्पमा अन्सारी दम्पती जस्तै दर्जनौंले यसैगरी छाक टारिरहेका छन्। अवस्था झन् झन् दयनीय बन्दै गएको छ। त्यहाँ पुग्ने जोकोहीको आँखा रसाउँछ। 

यतिबेला रेशमा खातुन बोल्न नसक्ने अवस्थामा पुग्न लागेकी छन्। उनको आँखाबाट बलिन्द्र आँसुका धारा बगिरहेछन्। सात बर्से छोरो सम्झँदै पलपल मूच्र्छित भइरहेको छ दम्पती। 

राम्रोसँग खान नपाएका उनको दूध राम्रोसँग आउँदैन। २० दिनकी छोरी काखमा चिच्याइरहेकी छन्। कहिले छोरीलाई एकोहोरो हेर्छिन्, कहिले घोप्टो परेर रुन्छिन्।  

रेशमाका खातुनले घरीघरी छोरा फैयाज भनेर कराउने गरेको त्यसबाहेक कसैसँग बोल्न नसकेको श्रीमान फिरोजले सुनाए। छोरा फैयाजलाई घरको पर्खालले चेपेको थियो। उनको त्यहीँ ज्यान गएको थियो। ‘बुवा (मंजुर मिया)को कम्मर र खुट्टा भाँचिएर नेसनल मेडिकल कलेजमा राखेका छौं, अचेत अवस्थामा हुनुहुन्छ।’ फिरोजले पीडा पोखे। 

फेटामा अहिले रेशमाजस्ता कैयौं सुत्केरी पौष्टिक आहाराको कमीले थलिँदै गएका छन्। पौष्टिक आहार के बिहान बेलुकाको खाना खान पाएका छैनन्। पुरैनिया बस्ती पूरै शोकमा छ। 

वडा नम्बर ६ पुरैनियामा घरबारविहीन टोलमा नेपाली सेना र सशस्त्र प्रहरीबाट अस्थायी टेन्ट हाल्ने काम भइरहेको छ। 

पीडित परिवारहरुलाई त्यहीं राखिएको छ। टेन्टबाहिर नवजात शिशुलाई लिएर बसेकी २१ वर्षीया सैरुनेसा खातुनले १ बर्से छोरा सलमान दूधको खाली बोतल चुसाएर चित्त बुझाउँदै थिइन्।

चार बर्से अर्को छोरो अरमान घरीघरी छेउमा आएर ‘आमा खाना चाहियो भन्दै गथ्र्यो, तर उनी छोरालाई रसाएका आँखाले हेर्थिन् मात्र, बोल्दिन्थिन्। 

अर्की सुत्केरी महिला २५ वर्षीया अप्साना खातुनको अवस्था पनि फरक छैन। राहतमा आएको चाउचाउ, बिस्कुटले बेहान–बेलुका छाक टारिरहेकी छन् उनी। सुत्केरी भएका बेला चाहिने पर्याप्त पोसिलो खाना उनले पनि पाएकी छैनन्। 

‘जेनतेन चाउचाउ र बिस्कुट खाएर छाक टार्ने गरेका छौं, तर बच्चालाई चाहिने दूध पूरा गर्न सकेका छैनौं।’ उनले पीडा पोख्दै भनिन्।

फेटामा सबैभन्दा दयनीय र कारुणिक अवस्था सुत्केरीकै छ। अरूले त जेनतेन खाएकै छन्। सक्नेले केही पाएका छन्, नसक्नेले रित्तै छन्।  

बालबच्चा रोइरहेका छन्, कराइरहेका छन्। 

त्यस्तै शौचालय र खानेपानीको पनि फेटामा अभाव देखिन थालेको छ। महिनावारी भएकाकको र युवतीहरूलाई पनि सेनेटरी प्याड अभाव भएको छ। खुला स्थानमा शौच गर्न बाध्य छन् उनीहरू।

पुरैनियाका वडाध्यक्ष जाकिर हुसैन आफैं बिरामी छन्। त्यही हावाहुरीमा उनको पनि खुट्टा भाँचिएको छ। त्यै पनि उनी राहत बाँड्न दौडिएका छन्। यसैबीच उनले गुनासो गरे, ‘धेरै क्षति भएका पीडितहरुलाई राहत बाँडन् सकिएको छैन।’ बालबालिका, सुत्केरी र महिलाको अवस्था बिग्रँदै गएको उनले पनि स्वीकारे।

 

 

सम्बन्धित शीर्षकहरु