काठमाडौँ, ६ असोज । डिजिटल कृषि (Digi कृषि) सम्बन्धि १ दिने गोष्ठी सम्पन्न भएको छ । यही भदौ ३१ गते शुक्रबार घाम पावर नेपालले १ दिने कार्यक्रम डिजि कृषि सफलतापूर्वक सम्पन्न गरेको हो ।
कार्यक्रमलाई वत्ताको प्रस्तुतीकरण र प्यानल छलफल गरेर दुई भागमा विभाजन गरिएका थियो । घाम पावर नेपालका कृषि विश्लेषक किरण तिमिल्सिनाले नेपालमा वर्तमान कृषिको अवस्था, कृषिमा भइरहेको डिजटलिकरण, नीतिगत कुराहरू कोट्याउँदै, घाम पावरले कृषिको डिजिटलिकरणमा गरिरहेका काम र भोग्नु परेको चुनौतीहरूको बारेमा चर्चा गरे ।
यसका साथ साथै घाम पावर नेपालले विकास गरेको विविध कृषि सेवाहरू लिइरहेका सविना मानन्धर र अमर थिङ्गले घाम पावरको कृषि प्रविधि अङ्गाले पछिका अनुभवहरू सुनाए ।
त्यस्तै कार्यक्रमको दोस्रो चरणमा ५ जना विभिन्न क्षेत्रबाट आएका विशिष्ट वक्ताहरू बिच प्यानल छलफल गरिएको थियो । प्यानल छलफलमा मोडरेसन घाम पावर नेपालमा कृषि अधिकृत हार्दिक सापकोटाले गरेका थिए ।
प्यानल छलफलको क्रममा फरवार्ड लघुवित्त संस्थाका कर्जा विभाग प्रमुख हिरा थन्दारले कर्जा लगानी बाहेक अरू काम पनि किसानसँग नजिकै रहेर काम गरिरहेको बताइन् ।
‘किसानले हाम्रो लघुवित्तबाट कृषि प्रयोजनको कर्जा लिँदा खेरी १ महिना मै कर्जा तिर्न नपर्ने र उत्पादन भएर बजारमा बेचे पछि कर्जा तिर्न सकिन्छ ।’ उनले भनिन् ।
यता कृषि तथा पशु विज्ञान अध्ययन संस्थान अनुसन्धान र प्रकाशन निर्देशनालयका प्रमुख हुमा न्यौपानेले स्नातक र स्नातकोत्तरमा डिजिटल कृषि सम्बन्धित पाठ्यक्रमहरू निर्माण गरी छिटो भन्दा छिटो लागू गर्नु पर्ने बताइन् ।
यस्तै तेस्रो प्यानल वक्ता स्मार्ट कृषि र कृषि बजार डट कमका प्रबन्ध अनिल रेग्मीले निजी, सरकारी र गैर सरकारी संस्थाहरूमा समन्वय भन्दा पनि प्रतिस्पर्धात्मक प्रवृत्ति हाबी भएको बताए ।