अहमदाबाद, ९ माघ । भारतमा गाई तस्करीको अभियोगमा एकजना युवकलाई आजीवन कारावासको सजाय सुनाइएको छ । गुजरातको तापी अदालतले गाई तस्करीको अभियोगमा दोषी ठहर गर्दै २२ वर्षीय मोहम्मद आमीन आरिफलाई आजीवन कारावासको सजाय सुनाएको हो ।
तापीको सेसन कोर्टले गाई तस्करीको अभियोगमा सजाय सुनाउँदै भनेको छ - 'गाई हत्या बन्द भयो भने पृथ्वीको सबै समस्या समाधान हुनेछ ।' उक्त मामिलामा अदालतले कयौँ संस्कृतका श्लोक पनि उद्धरण गरेको थियो ।
अदालतले फैसलामा भनेको छ - धर्म गाईबाट उत्पन्न हुन्छ, किनभने धर्म वृषभका रूपमा हुन्छ । गाईको बाच्छोलाई वृषभ भनिन्छ । अदालतका न्यायाधीश एसवी व्यासले गाईको गोबरबाट निर्मित घरमा परमाणु विकिरणको असर नहुने बताएका छन् । उनका अनुसार गहुँतको सेवनबाट कतिपय गम्भीर रोगहरू पनि निको हुन्छन् ।
फैसलामा गाईको तस्करी तथा हत्याका घटनालाई समाजको लज्जाको विषयका रूपमा उल्लेख गरिएको छ । न्यायाधीशले फैसलामा गाईलाई केवल पशु मात्र नभई एक आमाको दर्जा दिएका छन् । उनले गाईलाई ६८ करोड पवित्र स्थल तथा ३३ कोटी देवताको जीवित ग्रहसमेत भनेका छन् । सन् २०२० जुलाइमा प्रहरीले एक ट्रकबाट १६ भन्दा बढी गाईहरू बरामद गरेको थियो । उक्त मुद्दामा मोहम्मदलाई पक्राउ गरिएको थियो । उनीविरुद्ध अदालतमा आरोप पुष्टि भएपछि अदालतले फैसला सुनाएको हो ।