पुनः सञ्चालनमा आउन नसकेको श्रीराम सुगर मिल्सलाई पुनः सञ्चालन को माग गर्दै रौतहटका कृषकले संघर्ष समिति गठन गरेका छन् । गरुडा नगर उधोग वाणिज्य संघको सभाकक्षमा बसेको बैठकले समिति गठन गरेको हो । उँखु उत्पादन संघ रौतहटका अध्यक्ष अशोक प्रसाद यादवको अध्यक्षतामा १०१ सदस्य संघर्ष समिति गठन गरेको हो ।
गठित समितिको सदस्यहरुमा संन्तोष कुमार साह, ब्रिजकिशोर यादव, मो ।कलिमुल्लाह, रामभरोस यादव, दिपक यादव, राजकुमार दास लगायतका रहेको जनाईएको छ । सो समितिले उधोग मन्त्रालय, अर्थ मन्त्रालय र प्रधानमन्त्रीको कार्यालयमा ध्यानकर्षण गर्ने र सोबाट सुनुवाई नभएमा संघर्षको थप कार्यक्रम घोषणा गर्ने निर्णय गरेको सघर्ष समितिका अध्यक्ष यादवले बताउनुभयो । श्रीराम सुगर मिल्स यस क्षेत्रमा स्थापना गर्ने बेलामा बिस्थापित नहुने सर्तमा यहाँका कृषकले सस्तो मुल्यमा जमिन विक्रि गरेको उहाँको भनाई छ । बर्षौ अघि मिललाई जमिन दिएर स्थापना गराएको र हाल मेशिन उपकरण लिलामी प्रक्रियाबाट विक्रि गर्न थालेपछि यहाँका कृषक निराश भएको उहाँले बताउनुभयो । मिल पुनः संञ्चालन गर्नु पर्नेमा संघिय सांसद, मधेश प्रदेश सभा सदस्य, पालिकाका प्रमुृख, कृषक, उद्योगी व्यवसाय र विभिन्न राजनितिक दलका प्रतिनिधिहरु समेत रहेका छन् ।
तिन दिन अघि उद्योग परिसरमा आयोजित कृषक भेलामा अधिंकाश वक्ताहरुले उद्योग पुन सञ्चालनका लागि दवाव दिने नभएमा कडा आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।