दमौली : व्यास नगरपालिकाले लकडाउनमा पनि मासु पसल
खोल्न दिने भएको छ । यसअघि लकडाउन लागू भएदेखि नै मासु पसल बन्द हुँदै आएका
थिए । तर मासु व्यवसायीका प्रतिनिधिले तरकारी र आवश्यक खाद्यवस्तुसँगै
मासु पसल पनि खोल्न दिन माग गरेपछि नगरपालिकाले बिहान तीन घण्टा खोल्न दिन
लागेको हो ।
तर नगरपालिकाले यसका लागि केही शर्त राखेको छ । नगर उप प्रमुख मीरा
जोशीका अनुसार आवश्यक सावधानी अपनाएर मात्र पसल खोल्न पाइनेछ । नगरपालिकाले
व्यवसायीलाई जिल्ला भित्रका पशुपंक्षी मात्र उपयोग गर्न भनेको छ । हरेक
दिन बिहान तीन घण्टा अन्य खाद्यान्नका पसलसरह खोल्न तर जिल्ला बाहिरबाट
कुनै पनि पशुपंक्षी नल्याउन भनिएको जोशीले बताइन् । 'सावधानीपूर्वक सञ्चालन
गर्दा जोखिम कम हुने र किसान तथा उपभोक्ता पनि लाभान्वित हुने भएकाले यसो
गरेका हौं,' उनले भनिन् । मासु पसल सञ्चालनमा नआउँदा उपभोक्ताले व्यक्तिगत
तवरमा काटिएका सहर आसपासका क्षेत्रबाट लुकिछिपि मासु उपभोग गर्दै आइरहेका
छन्।