प्रेम कुमार गैरे
दुई सय पन्ध्र वर्ष अघि ई.सं.१८०६ मा भिमसेन थापा नेपालको मुख्तियार भएको अवधिबाट प्रधानमन्त्रीको गणना शुरु भएको जानकारी नेपाल सरकारको आधिकारिक वेभसाईटबाट प्राप्त गर्न सकिन्छ। उक्त तालिकालाई नियाल्दा स्पष्टरुपमा के देखिन्छ भने वेद,मनुस्मृती ग्रन्थ,१९१० को जङ्गे मुलुकी ऐन र हालसालैको नेपालको संविधान २०७२ सम्म आईपुग्दा,वर्ण व्यबस्था क्रमिक रुपमा जात व्यबस्थामा परिणत भई पहाडिया हिन्दु कथित उच्चजातिय अहंकारी परिवारमा पुरुष लिङ्गी अस्थित्वमा जन्म लिई शिक्षित–दिक्षित हुँदै आएका ब्राह्मण र क्षेत्रीय वर्ण÷जातका उस्तै अनुहारका मान्छेहरुनै यण–केण–प्रकेण प्रधानमन्त्री बने ।
नेपालको ४४औं प्रधानमन्त्रीका रुपमा हिजो सपथ खाएका नवनियुक्त प्रधानमन्त्री शेर बहादुर देउवा क्षेत्री जातका २८औं प्रधानमन्त्री बन्न पुगे ।
जात व्यबस्थामा आधारित राज्यसत्ता र यसै सत्ताको बाघडोर सम्हाल्ने प्रधानमन्त्रीको सुचिलाई स्पष्ट बुझ्न निम्नानुसार तथ्यांक प्रस्तुत गर्न सकिन्छ जुन तथ्य हेर्दा र अध्ययन गर्दा उत्पिडित जनजाती,महिला,दलित र मधेसी समुदायका सचेत वर्गको आङ सिरिङ हुनु कुनै अस्वभाविक प्रक्रिया होईन।
१)राणा शासन पुर्व कालखण्डः–ई.सं.१८०६–१८३७ सम्म
प्रधानमन्त्री संख्या– बाहुन–१ जना ;क्षेत्री–५ जना
२)राणा शासन कालखण्डः–ई.सं.१८४६–१९५१सम्म
प्रधानमन्त्री संख्याः– क्षेत्री–१० जना
३)प्रजातन्त्र स्थापना देखि पञ्चायत पुर्व कालखण्डः–
ई.सं.१९५१–१९६० सम्म
प्रधानमन्त्री संख्या–बाहुन–३ जना ;क्षेत्री–२ जना
४)पञ्चायत कालखण्डः– ई.सं. १९६०–१९८९ सम्म
प्रधानमन्त्री संख्या–बाहुन–१ जना ;क्षेत्री–४ जना
जनजाती (नेवार)– १ जना
५)बहुदलीय प्रजातन्त्र देखि शाही शासन कालखण्ड पुर्वसम्मः– ई.सं.१९९०–२००२ सम्म
प्रधानमन्त्री संख्या–बाहुन–३ जना ;क्षेत्री–३ जना
६)शाही शासन कालखण्डः– ई.सं.२००२–२००६ सम्म
प्रधानमन्त्री संख्या–बाहुन– ० ; क्षेत्री–३ जना
७)संसद पुनःस्थापना देखि गणतन्त्र नेपाल (हालसम्म)ः–
ई.सं.२००६ देखि हालसम्म
प्रधानमन्त्री संख्या–बाहुन–८ जना ;क्षेत्री–१ जना
माथीको तथ्यांकलाई हेर्दा स्पष्ट हुन्छ कि क्षेत्री जात÷वर्णका भिमसेन थापा देखि गणतन्त्र मुलुकका क्षेत्री जातकै नवनियुक्त प्रधानमन्त्री शेर बहादुर देउवासम्म आईपुग्दा १६३ वर्षसम्म नेपालको रजगज क्षेत्री जातको हातमा देखियो भने बाहुन जातबाट अहिलेसम्म १६ जनाले प्रधानमन्त्री पदमा नाम दर्ज गरि ३४ वर्ष राजकाज गरेको पाईयो।यसैगरी अपबादका रुपमा पञ्चायत शासनकालमा नेवार समुदायका मरिच मान सिंह श्रेष्ठलाई क्षेत्री वर्ण÷जात को “सिंह“ थर थप्न लगाई प्रधानमन्त्री बनाएको पाईन्छ ।
यसरी हेर्दा शासनको बाघडोर सम्हाल्ने प्रतिस्पर्धामा केवल दुई जातको मात्रै सहभागिता देखिन्छ र विद्रोही र बुलन्द स्वरमा पाचौं पटक दोहोरिएका नवनियुक्त प्रधानमन्त्री शेर बहादुर देउवालाई एउटा प्रश्न छ, “प्रधानमन्त्री ज्यु,अब उत्पीडित वर्ग÷समुदाय÷लिंग प्रधानमन्त्री बन्न कति हजार वर्ष पर्खिनु पर्ने हो?“