राष्ट्रपति भण्डारीको असंवैधानिक र अलोकतान्त्रिक कदमको विरुद्ध जसपाका नेता कार्यकर्ताहरु गरुडामा विरोध प्रदर्शन गर्दै नारावाजी समेत गरेका छन् ।नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै रौतहटमा राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरिएको छ ।
नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति भण्डारी समक्ष प्रस्तुत गर्दा पनि राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरी संविधानको ठाडो उल्लंघन गरेको भन्दै जनता समाजवादी पार्टी नेपाल जिल्ला समन्वय समिति रौतहटले जिल्लाको मध्य भाग गरुडामा बुधवार साँझ उनको पुत्ला जलाएका छन् । प्रदर्शनमा संविधान उल्लंघन गर्ने राष्ट्रपति भण्डारी पदबाट राजिनामा गर, राष्ट्रपतिले संविधानलाई मिच्न पाइदैन जस्ता नारावासी गरिएको थियो । प्रदर्शनपछि गरुडाको मेथुर चौधरी चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी नेपाल रौतहटका सह–संयोजक राजकुमार दासले सदनबाट दुई–दुई पटक पारित गरेर राष्ट्रपति भण्डारी समक्ष प्रस्तुत गर्दा पनि राष्ट्रपतिले प्रमाणीकरण गर्न अस्वीकार गर्नु संविधानको उल्लघंन तथा संसदीय लोकतान्त्रिक मुल्य मान्यता र मर्ममाथि प्रहार भएको बताएका छन् ।
नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरी संविधान र सदनलाई मजाक बनाएको कारण उनको असंवैधानिक कदमको विरुद्ध आफूहरु विरोध प्रदर्शन गर्दै उनको पुत्ला जलाएको नेता दासले बताए । सोही कार्यक्रममा बोल्दै जसपाका नेता संजीव यादवले राष्ट्रपतिलाई संविधानको उलंघन गर्ने अधिकार नरहेको बताए । संवैधानिक व्यवस्था अनुसार सदनबाट दोश्रो पटक पारित नागरिकता विधेयक प्रमाणीकरण गर्ने अधिकार राष्ट्रपतिलाई भएपनि उनले सो विधेयक प्रमाणीकरण नगर्नु लोकतन्त्रमाथीको प्रहार भएको नेता यादवले बताए । राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगर्नु संविधान विपरीतको कदम भएको उनले बताए । कार्यक्रममा जसपाका जिल्ला संयोजक रामअशिष यादव, नेता कौशरखान मिथला, कमलेश यादव, उपेन्द्र यादव, दिनेश यादव लगाएतका नेताहरुको सहभागिता रहेको थियो ।