काठमाडौं । बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछानेलाई थप सात दिन थुनामा राख्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ ।
प्रहरीले अनुसन्धान नसक्किएको भन्दै थप समयको माग गरेपछि अदालतले सात दिनको थप समय दिएको हो । त्यसका लागि उनलाई आज अदालतमा उपस्थित गराइएको थियो । सन्दीपका कानुन व्यवसायी सरोज घिमिरेका अनुसार थपिएको म्याद उनी पक्राउ भएको मितिदेखि लागू हुनेछ ।
एक नालालिक युवतीले गत भदौ ५ गते आफूलाई बलात्कार गरेको भन्दै भदौ २१ गते गौशाला प्रहरीमा उजुरी दिएपछि उनलाई विदेशबाट आउँदाआउँदै विमानस्थलमा पक्राउ गरिएको थियो ।
नेपालको राष्ट्रिय क्रिकेट टिमको क्याप्टेनसमेत भइसकेका र खेलमार्फत नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन महत्वपूर्ण योगदान दिएका उनलाई हतार गरेर पक्राउ गरिएको भन्दै सामाजिक सञ्जालमा प्रहरी प्रशासनको चर्को आलोचनासमेत भइरहेको देखिन्छ । तर अधिकारीवादी महिलाले भने संदीपलाई कडा कारवाही गर्नुपर्ने अडान राख्दै आएका छन् ।