सुर्खेत — प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओलीले संविधानलाई कटौरामा फालेको बताए । उनले गठबन्धनले जिते संविधान, लोकतन्त्र, गणतन्त्रको रक्षा हुने बताए । 'जनतालाई जसले बढी सेवा गरेको छ त्यसलाई जिताउँछन् । जनता ठूलो हो । गठबन्धन हैन,' उनले भने, ‘टिकट लिएर जितिँदैन, जनताको मन जित्नुस् ।’
सुर्खेतको वीरेन्द्रनगरमा आइतबार आयोजित प्रदेशस्तरीय पाँच दलीय गठबन्धनको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै देउवाले टिकट नपाएका कार्यकर्ताले असहयोग गर्ने हैन, गठबन्धनले जिते अवसरका लागि धेरै स्थानहरु रहेको आश्वासन दिए ।
नेकपा माआवादीका केन्द्रका अध्यक्ष पुस्पकमल दाहालले केपी ओलीसँगको गठबन्धन र संगतले गर्दा अहिलेको गठबन्धन बनाउन धेरै मद्दत पुगेको बताए । अहिले गठबन्धनको पक्षमा जनमत भएको उनको भनाइ छ ।
'गठबन्धनले कर्णालीमा सयमा सय प्रतिशत जित्छ', उनले भने, ‘गठबन्धनमा आत्मघाती कदम चाले आफैलाई घाटा हो ।’
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले हँसिया हथौडामा लोकतन्त्रको घेरा लागेकाले ढुक्कका साथ मतदान गर्न आग्रह गरे । गठबन्धन लोकतन्त्रको रक्षा, दिगो शान्ति कायम गर्न र राष्ट्रलाई अन्धकारतर्फ धकेल्नेप्रति सजक गराउन भएको भन्दै उनले जनता चनाखो रहन पर्नेमा जोड दिए ।