रौतहटमा छठ पर्वको भव्य तयारी गरिएको छ। नदी, तलाउ वा पवित्र जलकुण्डमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिई प्रारम्भ हुने यो पर्व उदाउँदो सूर्यलाई अर्घ्य दिई सम्पन्न गरिन्छ । छठ पर्वको अवसरमा जिल्लामा कुनै अप्रिय घटना हुन नदिन दुई हजार बढी सुरक्षाकर्मी जनशक्ति परिचालन गरिएको छ।
जिल्ला मा हाल कपडा, खाद्यान्न तथा फलफुलका पसलहरूमा किनमेल गर्ने ग्राहकको भिड निकै देखिएको छ । त्यसैगरी अहिले गौर, चन्द्रनिगाहपुर, गरुडा, कटहरिया, शिवनगरका साथै सीमावर्ती भारतिय बजार बैरगनिया, कुण्डवा चैनपुर, घोडाशहनमा पूजा सामग्री, किराना सामान तथा कपडा किनमेल गर्नेहरुको चहलपहल निकै बढेको छ ।
यसपटक पूजा सामग्रीहरु, फलफूल मिठाइ, छठ पर्वमा प्रयोग हुने बांसको दौरा, सुपरी, माटोको बर्तन, कलश, ढकनाको भाउ आकासिएको छ । त्यसैगरी हरियो तरकारीको मूल्य निकै बढेको स्थानीयले गुनासो गरेका छन् ।