चन्द्रपुर - स्वयंम सेवक शिक्षकका लागि पहिलो चरणमा लिएको लिखित परिक्षाको नतिजा चन्द्रपुर नगरपालिकाले सार्वजनिक गरेको छ । पहिलो चरणको परिक्षामा माध्यमिक तहमा १२ जना, निम्न माध्यमिक तहमा ६८ जना र प्रथामिक तहमा २ सय १२ जना परिक्षार्थी सहभागी भएका थिए । चन्द्रपुर नगरपालिकाले शनिवार लिएको पहिलो चरणको परिक्षाको नतिजा आईतबार प्रकाशन गरेको हो ।
जस अनुसार माध्यमिक तहमा तिन जना सफल हुनुभएको छ । निम्न माध्यमिक तहमा ९ जना र प्रथामिक तहमा २३ जनाको नतिजा सफल भएको चन्द्रपुर नगरपालिकाका नगर शिक्षा अधिकार कृष्ण प्रसाद सिग्देलले जानकारी दिनुभएको छ । स्वयंम सेवक शिक्षकको लागी चन्द्रपुर नगरपालिकाले माबि, निमाबि र प्राबिका ३०१ जनाको आवेदन स्वकृती गरेपनि पहिलो चरणको परिक्षामा २ सय १२ जना परिक्षार्थी सहभागी भएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरणमा बस्तुगत परिक्षा भएको र दोश्रो चरणमा बिषयगत परिक्षा हुने छ ।
पहिलो चरणको नतिजा सफल भएकाहरुले दोश्रो चरणको परिक्षामा सामेल हुनसक्ने उहाँको भनाई छ । दोश्रो चरणको परिक्षाका लागि मिति, स्थान र समय अर्को सूचनामा प्रकाशित गरिने नगर शिक्षा अधिकारी सिग्देलले बताउनुभयो । चन्द्रपुर नगरपालिका भित्रका सामुदायिक विद्यालयमा स्वयंसेवक शिक्षक तथा करार शिक्षक र कर्मचारी छनौट सम्बन्धी कार्यविधि २०८०“ बमोजिम यस नगरपालिकाबाट विनियोजित बजेट अनुरुप शिक्षकको माग गरिएकोे हो । गत साउन ८ गतेको स्वीकृत स्वयंसेवक शिक्षक कोटामा नगर शिक्षा समितिको निर्णयानुसार शिक्षक माग गरिएको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफलेले बताउनुभयो । चन्द्रपुर नगरपालिकाको शैक्षिक सुधारमा गुणस्तरियता ल्याउनको लागी यो पहिलो कदम अनुसार नै शिक्षक भर्ना गर्न थालिएको उहाँको भनाई छ । शैक्षिक सुधारमा गुणस्तरियता ल्याउनको लागी चन्द्रपुर नगरपालिकाले सम्भवत पहिलो पटक शिक्षक भर्ना थालेको हो ।