नेपाली राष्ट्रिय क्रिकेट टिमका स्टार लेग स्पिनर सन्दीप लामिछाने युनिटी कपअन्तर्गत वेस्ट इन्डिजविरूद्धको पहिलो टी-२० आई खेलमा बेञ्चमा सीमित हुनुको कारण क्यानसँगको विवाद रहेको र हाल राष्ट्रिय टिमको मुख्य प्रायोजक नासा सेक्युरिटीको नाम र लोगोअंकित जर्सी लगाएर खेल्न अस्वीकार गरेको क्यान स्रोतले जनाएको छ भनेर कान्तिपुरले छापेको समाचारको सन्दीप लामिछानेले खण्डन गरेका छन् ।
उक्त मिडियालाई मेन्सन गर्दै सन्दीप लेख्छन् - "खासै म यस्ता कुरामा वास्ता गर्दिनँ, तर एउटा प्रश्न छ—
कहिले सुध्रिन्छौ यार, Kantipur TV HD?
अहिलेसम्म पनि तपाईंहरू यही कुरा मात्र ठूलो विषय ठानिरहनुभएको छ? यत्रा हालत हुँदा पनि अझै सुध्रिन सकिएको छैन? त्यस्तो कुरा हो भने प्रमाणसहितको स्रोत मेरो अगाडि ल्याउनुहोस्।
“Naasa Securities” लगाएर खेल्दिन भनिएको भए, अष्ट्रेलियाको सिरिजमा के लगाएर खेलिएको थियो त? र, यहाँका खेलहरूमा पनि त्यही लोगो छ।
र जहाँसम्म CAN सम्बन्धी कुरा छ, त्यो व्यक्तिगत विषय हो। त्यसको समाधान म आफैंले गरिहाल्छु। तर त्यसलाई लिएर किन त्यति चासो देखाएर हावामा समाचार हालिन्छ?
समय अझै छ—बेलामा बुझेर समाचार लेख्ने बानी बसाल्नुस्। तपाईंहरूलाई म अझै पनि नेपालको एक अग्रणी सञ्चारमाध्यम भनेर सम्मान गर्छु। तर अबदेखि यस्तो नहोस् भन्ने मात्र चाहन्छु।