काठमाडौं । नेकपा निकट जेन–जी रेड फोर्सकी संयोजक स्मृति तिमल्सिनालाई प्रहरीले नियन्त्रणमा लिएर केही समयपछि रिहा गरेको छ।
तिमल्सिनालाई मंगलबार बिहान अनामनगरबाट सादा पोसाकका प्रहरीले नियन्त्रणमा लिएर भद्रकालीस्थित प्रहरी परिसरमा लगिएको थियो। उनलाई केही समय सोधपुछ गरेपछि चेतावनीसहित छाडिएको बताइएको छ।
तिमल्सिनाका अनुसार सरकारको आलोचना गरेको विषयलाई लिएर आफूलाई पक्राउ गरिएको हो। प्रहरीले आगामी दिनमा सरकारविरुद्ध सामग्री नबनाउन र भिडियो बनाउँदा अनुमति लिनुपर्ने भन्दै लिखित कागज गराएको उनले दाबी गरेकी छन्।
प्रहरीले भने घटनाबारे औपचारिक धारणा सार्वजनिक गरेको छैन।
पछिल्लो समय सामाजिक सञ्जालमार्फत हुने राजनीतिक अभिव्यक्तिलाई लिएर निगरानी बढाइएको छ। यसले अभिव्यक्ति स्वतन्त्रता र सरकारी नियन्त्रणबीचको बहसलाई पुनः सतहमा ल्याएको छ।