काठमाडौं- काठमाडौंमा चर्चित जेन-जी आन्दोलनसम्बन्धी मुद्दामा अनुसन्धान तीव्र पारिएको छ। पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई बयानका लागि बुधवार जिल्ला प्रहरी परिसरमा उपस्थित गराउने तयारी प्रहरीले गरेको जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, प्रारम्भिक रूपमा अदालतले दिएको ५ दिनको हिरासत म्याद अपुग हुने देखिएकाले थप समय माग गर्ने प्रक्रिया अघि बढाइएको छ। उनीहरूलाई जेन-जी आन्दोलन जाँचबुझ आयोगको सिफारिसका आधारमा गत शनिबार पक्राउ गरिएको थियो, जहाँ ज्यानसम्बन्धी मुद्दामा कारबाहीको सिफारिस गरिएको छ।
उक्त घटनामा भदौ २३ गते ज्यान गुमाएका रसिक खतिवडाका परिवारले दिएको जाहेरीका आधारमा अनुसन्धान अगाडि बढाइएको हो। यस मुद्दामा दोषी ठहर भए ३ देखि १० वर्षसम्म कैद सजाय हुन सक्ने कानुनी व्यवस्था छ।
पक्राउपछि केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएका छन् भने रमेश लेखक प्रहरी नियन्त्रणमै छन्। स्वास्थ्य अवस्थाका कारण ओलीलाई अदालतसमक्ष भर्चुअल माध्यमबाट उपस्थित गराइएको थियो।
प्रहरीका अनुसार बुधवार बयान लिने तयारी भए पनि ओलीको स्वास्थ्य अवस्थाले त्यसमा असर पार्न सक्नेछ। “स्वास्थ्य अनुकूल भएपछि मात्र बयान लिइनेछ,” परिसरका प्रवक्ताले जानकारी दिएका छन्। आवश्यक परे बयान अर्को दिन सार्न सकिने पनि जनाइएको छ।
यसैबीच, घटनासँग सम्बन्धित भन्दै तत्कालीन काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। यद्यपि, उनको बयान भने बुधवार नलिइने बताइएको छ।
अनुसन्धान प्रक्रिया जारी रहेकाले प्रहरी पुनः म्याद थपका लागि अदालत जाने तयारीमा रहेको जनाएको छ।