साधारण सभामा आगामी वर्षका लागि बजेट तथा कार्यक्रम सार्वजनिक
५ मंसिर । रौतहटको चन्द्रपुर नगरपालिका–१ स्थित पौराई ब्रह्मस्थानको धार्मिक तथा पर्यटकीय पूर्वाधार विकासका लागि आगामी आर्थिक वर्ष २०८३/०८४ मा १६ वटा योजना अघि सारिएको छ ।
पौराई ब्रह्मस्थान निर्माण सुधार संघको ३१औँ वार्षिक साधारण सभामा प्रस्तुत वार्षिक प्रतिवेदनमार्फत धार्मिक स्थलको व्यवस्थित विकास, धार्मिक पर्यटन प्रवर्द्धन तथा भौतिक पूर्वाधार विस्तारका लागि ती योजना सार्वजनिक गरिएको हो ।
संघका अध्यक्ष रामशरण तिमिल्सिनाले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा टिकटक पार्क निर्माण, नाला निर्माण, मन्दिर परिसरको रङरोगन तथा सौन्दर्यीकरण, हनुमान मन्दिर मर्मत, विद्यालयलाई सहयोग, बाघको मूर्ति स्थापना, सेप्टिक ट्याङ्की निर्माण र १०८ शिवलिङ्ग कैलाश परिक्रमा परियोजना निर्माणलाई प्राथमिकतामा राखिएको छ ।
त्यसैगरी ब्रह्मस्थान परिसरमा चित्रकला तथा पेटिङ, मन्दिर परिसरमा मार्बल बिछ्याउने, विवाह मण्डप निर्माण, धर्मशालामाथि सभाहल निर्माण, कार्यालय भवनमा थप तला निर्माण, कीर्तनका लागि सेड निर्माण तथा फोहोर व्यवस्थापनका लागि हाइड्रोलिक ट्रेलर खरिद गर्ने योजना पनि अघि सारिएको छ ।
प्रस्तावित योजनामध्ये १०८ शिवलिङ्ग कैलाश परिक्रमा परियोजनालाई विशेष प्राथमिकता दिइएको छ । धार्मिक आस्थाको संरक्षणसँगै पर्यटकीय गतिविधि विस्तार गर्ने उद्देश्यले अघि सारिएको उक्त परियोजनालाई आगामी वर्ष पनि निरन्तरता दिने संघको योजना छ ।
योजनाहरू कार्यान्वयनका लागि संघले आन्तरिक तथा बाह्य स्रोतबाट आर्थिक व्यवस्थापन गर्ने जनाएको छ । आन्तरिक आम्दानीतर्फ सटर भाडा, सदस्यता नवीकरण, सभाहल भाडा, सहयोग, सरसफाइ शुल्क, दानपेटिका तथा परेवा र बोका बिक्रीबाट प्राप्त हुने रकमलाई आम्दानीको स्रोत बनाइएको छ । बाह्य स्रोततर्फ चन्द्रपुर नगरपालिका तथा अन्य सरकारी निकायबाट सहयोग प्राप्त हुने अपेक्षा गरिएको छ ।
साधारण सभामा आर्थिक वर्ष २०८२/०८३ को माघ १ देखि असार मसान्तसम्मको आर्थिक प्रतिवेदनसमेत प्रस्तुत गरिएको थियो । प्रतिवेदनमा आन्तरिक तथा बाह्य स्रोतबाट भएको आम्दानी र प्रशासनिक एवं परियोजनागत खर्चको विवरण समेटिएको छ । खानेपानी, ज्याला, इन्धन, मर्मतसम्भार, पूजाआजा, आर्थिक सहयोग, विद्युत्, कर्मचारी तलब, सरसफाइ, बैठक तथा लेखापरीक्षणलगायत शीर्षकमा खर्च भएको उल्लेख गरिएको छ ।
साधारण सभामा संस्थाको प्रगति, उपलब्धि, आर्थिक पारदर्शिता र भावी कार्ययोजनाबारे छलफल गरिएको थियो । अध्यक्ष तिमिल्सिनाले पौराई ब्रह्मस्थानको विकासका लागि सदस्य, स्थानीयवासी, सहयोगी निकाय र सरोकारवालाको सहकार्य आवश्यक रहेको बताउनुभयो ।
संस्थाले आगामी दिनमा प्रस्तावित योजनालाई कार्यान्वयन गर्दै पौराई ब्रह्मस्थानलाई व्यवस्थित, आकर्षक तथा धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको छ ।
संघका अध्यक्ष रामशरण तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न साधारण सभाका प्रमुख अतिथि चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीराज ढकाल रहनुभएको थियो । कार्यक्रममा विशिष्ट अतिथिका रूपमा चन्द्रपुर नगरपालिका–१ का वडाध्यक्ष बलराम राउत र पौराई प्रहरी चौकीका इन्चार्ज दिनेशप्रसाद चौलागाईं सहभागी हुनुहुन्थ्यो ।
त्यसैगरी जनज्योति माध्यमिक विद्यालयका अध्यक्ष नरेश लामिछाने, समाजसेवी लक्ष्मण न्यौपाने, वीरबहादुर रखाल, चेतबहादुर खड्कालगायत विभिन्न गाउँका अगुवा, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।