काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि सुदूरपश्चिम रोयल्सले जितेलगत्तै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नेपाली क्रिकेट पूर्वाधारका लागि नयाँ घोषणा गरेका छन् । प्रतियोगिताका आठवटै फ्रेन्चाइज टोलीका लागि फ्लडलाइटसहितका सुविधासम्पन्न रंगशाला निर्माण गरिने र छैटौँ संस्करणदेखि एनपीएल ‘होम एन्ड अवे’ प्रणालीमा खेलाइने घोषणा प्रधानमन्त्रीले गरेका हुन् ।
शनिबार सम्पन्न फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्दै उपाधि चुमेपछि प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत यो महत्त्वाकाङ्क्षी योजना सार्वजनिक गरेका हुन् ।
प्रधानमन्त्री शाहका अनुसार सबै रंगशाला निर्माणको जिम्मेवारी पूर्वाधार विकास मन्त्रालयले सम्हाल्नेछ । सुदूरपश्चिमको धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको प्रक्रिया यसअघि नै सुरु भइसकेको जानकारी दिँदै उनले अन्य रंगशालाको निर्माण प्रक्रिया आगामी तीन महिनाभित्रै अघि बढाइने जानकारी दिए ।
कुन क्लबको घरेलु मैदान कहाँ ?
प्रधानमन्त्रीका अनुसार एनपीएलका आठ टोलीका लागि तोकिएका घरेलु रंगशालाहरू यसप्रकार छन्:
1. विराटनगर किंग्स: बैजनाथपुर क्रिकेट रंगशाला (विराटनगर)
2. जनकपुर बोल्ट्स: रामजानकी क्रिकेट रंगशाला (जनकपुर)
3. काठमाडौँ गुर्खाज: कीर्तिपुर क्रिकेट मैदान (काठमाडौँ)
4. चितवन राइनोज: गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला (चितवन)
5. पोखरा एभेन्जर्स: पोखरा क्रिकेट रंगशाला (पोखरा)
6. लुम्बिनी लायन्स: सिद्धार्थ क्रिकेट रंगशाला (भैरहवा)
7. कर्णाली याक्स: सुर्खेत क्रिकेट रंगशाला (सुर्खेत)
8. सुदूरपश्चिम रोयल्स: फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला (धनगढी)
छैटौँ संस्करणदेखि घरेलु मैदानमै प्रतिस्पर्धा
हाल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मात्र सीमित रहेको प्रतियोगितालाई विकेन्द्रीकृत गर्दै देशव्यापी बनाउने सरकारको योजना छ । फ्लडलाइटसहितका आधुनिक रंगशालाहरू तयार भएसँगै एनपीएलको छैटौँ संस्करणदेखि हरेक टोलीले आफ्नै प्रदेश र घरेलु समर्थकमाझ ‘होम एन्ड अवे’ आधारमा खेल्ने वातावरण बन्नेछ ।