काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्रतियोगिताभर सर्वोत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई प्रदान गरिने बहुप्रतीक्षित कार पुरस्कार चितवन राइनोजका तीव्र गतिका बलर रिजन ढकालले जितेका छन् । प्रतियोगिताको उत्कृष्ट नेपाली खेलाडी घोषित भएका ढकाललाई पुरस्कारस्वरूप ओमोडा एन्ड जेको ब्रान्डको ‘जेको जे-५ प्रो’ मोडेलको लक्जरी कार प्रदान गरिएको हो ।
यस सिजनमा रिजन ढकालको बलिङ प्रदर्शन चितवन राइनोजको यात्राका लागि मेरुदण्ड सावित भयो । उनले प्रतियोगिताका ८ खेल खेल्दै १७ विकेट हात पारेर तेस्रो संस्करणकै सर्वाधिक विकेट लिने बलरको कीर्तिमान आफ्नो नाममा लेखाए ।
५१ लाख ९९ हजार रुपैयाँ बजार मूल्य रहेको यस ईभीमा १५५ किलोवाटको इलेक्ट्रिक मोटर जडान गरिएको छ, जसले २८८ एनएम टर्क उत्पादन गर्छ । ५०.७ किलोवाट घण्टाको ब्याट्री क्षमता रहेको गाडीमा १८५ एमएमको ग्राउन्ड क्लियरेन्स र आपतकालीन अवस्थाका लागि फुल-साइज स्पेयर टायरसमेत उपलब्ध गराइएको छ ।
सुरक्षा र सुविधाका हिसाबले जेइको जे-५ प्रोमा १९ भन्दा बढी एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम फिचरहरू छन् । गाडीको भित्री भागलाई आकर्षक र खुला बनाउन प्यानोरामिक मुनरुफ जडान गरिएको छ भने ४८० लिटरको बुटस्पेसले सामान ओसारपसारमा थप सहजता प्रदान गर्ने कम्पनीको विश्वास छ ।
गाडीमा ११ वर्ष वा २ लाख ४० हजार किलोमिटरसम्मको विस्तारित वारेन्टी प्रदान गरिएको छ ।
प्रतियोगिताको इलिमिनेटर खेलमा काठमाडौं गोर्खाजविरुद्ध मात्र १६ रन खर्चेर ४ महत्त्वपूर्ण विकेट लिनु उनको यस सिजनकै उत्कृष्ट र निर्णायक स्पेल थियो । दोस्रो क्वालिफायरमा समेत १ विकेट चट्काउँदै टिमलाई उपाधि नजिक पुर्याउन निर्णायक भूमिका खेलेका उनले प्रतियोगिताभर विपक्षी ब्याटरहरूमाथि निरन्तर दबाब कायम राखेका थिए ।
शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्दै उपाधि चुमेको थियो । फाइनल खेलअघिसम्म उत्कृष्ट नेपाली खेलाडीको कार पुरस्कारका लागि रिजन ढकालसँगै च्याम्पियन सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी र उपविजेता लुम्बिनीका शेर मल्ल पनि कडा दाबेदारका रूपमा उभिएका थिए ।
यद्यपि, प्रतियोगिताभरको समग्र निरन्तरता, प्रभावकारिता र सर्वाधिक विकेटकर्ताको स्थितिलाई मूल्याङ्कन गर्दै आयोजकले ढकाललाई सर्वोत्कृष्ट नेपाली खेलाडीका रूपमा चयन गरेको हो ।
एनपीएलको पुरस्कार संरचनाअनुसार उत्कृष्ट नेपाली खेलाडीलाई कार तथा विधागततर्फ उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र उदीयमान खेलाडीलाई मोटरसाइकल प्रदान गर्ने व्यवस्था गरिएको थियो । यो पुरस्कार प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द टुर्नामेन्ट) लाई प्रदान गरिने नगद पुरस्कारभन्दा भिन्न विधा हो ।
यस संस्करणको ‘प्लेयर अफ द टुर्नामेन्ट’ भने च्याम्पियन टोली सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी घोषित भए र उनले नगद ५ लाख रुपैयाँ प्राप्त गरे । त्यस्तै, जनकपुर बोल्ट्सका युवा खेलाडी राहुल यादव यस सिजनको इमर्जिङ प्लेयर (उदीयमान खेलाडी) चुनिएका छन् ।
नेपाल प्रिमियर लिगमा उत्कृष्ट नेपाली खेलाडीलाई कार उपहार दिने परम्पराअनुसार रिजन ढकाल यो पुरस्कार जित्ने तेस्रो खेलाडी बनेका छन् । यसअघि एनपीएलको पहिलो संस्करणमा सुदूरपश्चिम रोयल्सका दीपेन्द्रसिंह ऐरी र दोस्रो संस्करणमा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले उत्कृष्ट नेपाली खेलाडी बन्दै कार हात पारेका थिए ।